सरकारी कार्यालयको हिउँदे कार्यतालिका आज (कात्तिक १६ गते) देखि लागू भएको छ । नयाँ व्यवस्थाअनुसार अब देशभरका सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुला रहनेछन् ।
सरकारले जाडो मौसमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्मका लागि कार्यालय समय निर्धारण गरेको हो । यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । जाडोयाममा दिन छोटो हुने र कर्मचारी तथा सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै दैनिक कार्यालय समय एक घण्टा कटौती गरिएको हो । नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय सातामा पाँच दिन सञ्चालन हुनेछन् । पेट्रोलियम पदार्थको आपूर्ति असहजता र इन्धन खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले यसअघि नै शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो ।
नयाँ कार्यतालिकाअनुसार सरकारी सेवा लिन चाहने सेवाग्राहीले अपराह्न ४ बजेअघि नै कार्यालय पुग्नुपर्नेछ । माघ १६ गतेदेखि भने सरकारी कार्यालयको समय पुनः नियमित तालिकाअनुसार सञ्चालन हुनेछ ।

Online Arthik










