जानकी फाइनान्स कम्पनी लिमिटेडको खराब कर्जा अनुपात ६२.९२ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको कुल इक्विटीसमेत ५ करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीले असोज मसान्तसम्म ८५ लाख ८५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खराब कर्जा अनुपात गत वर्षको पहिलो त्रैमासमा ५३.८० प्रतिशत रहेकोमा यस वर्ष बढेर ६२.९२ प्रतिशत पुगेको हो । त्यस्तै, कम्पनीको पुँजीकोष अनुपात पनि ८.११ प्रतिशत ऋणात्मक रहेको छ । गत वर्ष यस्तो अनुपात ५.७४ प्रतिशत ऋणात्मक थियो ।कम्पनीको प्रतिसेयर आम्दानी ४.९७ रुपैयाँ ऋणात्मक रहेको छ भने रिटेन्ड अर्निङ १ अर्ब १७ करोड ८२ लाख रुपैयाँ ऋणात्मक छ ।यद्यपि, समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष पहिलो त्रैमासमा १ करोड ७४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर ६ करोड ११ लाख रुपैयाँ पुगेको छ । तर कर्जा नोक्सानी व्यवस्थापन र अन्य खर्चका कारण कम्पनी घाटामा गएको हो ।असोज मसान्तसम्म कम्पनीले २ अर्ब २० करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो त्रैमासमा निक्षेप २ अर्ब ६४ करोड र कर्जा २ अर्ब ४७ करोड ८० लाख रुपैयाँ थियो ।यसैगरी, कम्पनीको कुल सम्पत्ति ४ अर्ब ३० करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो त्रैमासमा कुल सम्पत्ति ४ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको आधारदर ९.३१ प्रतिशत, कस्ट अफ फण्ड ६.४० प्रतिशत र सीडी रेसियो ९२.१६ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया