मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई सहज, छिटो र पारदर्शी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत ग्राहकले अब घरमै बसेर आफ्नो कर्जा आवेदनको अवस्था अनलाइनबाटै थाहा पाउन सक्नेछन् । यसअघि कर्जाको प्रगति बुझ्न बैंकको शाखा कार्यालय पुग्नुपर्ने वा फोन गर्नुपर्ने बाध्यता रहेकामा अब बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर र लोन एप्लिकेसन ट्र्याकिङ आईडी प्रयोग गरेर जुनसुकै समय आवेदनको अवस्था हेर्न सकिनेछ । प्रणालीमार्फत कर्जा आवेदन कुन चरणमा पुगेको छ, मूल्याङ्कन तथा स्वीकृति प्रक्रियाको अवस्था र पछिल्ला अपडेटबारे जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै, कर्जा आवेदन स्वीकृत भएपछि ग्राहकलाई एसएमएसमार्फत तत्काल जानकारी दिने व्यवस्था गरिएको छ । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै डिजिटल प्रविधिको प्रयोगबाट सेवा प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र ग्राहककेन्द्रित बनाउने उद्देश्यले नयाँ सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया