शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले समीक्षा अवधिमा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ खुद घाटामा रहेको थियो ।

कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क १३.७९ प्रतिशतले बढेर ३३ करोड ८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम २९ करोड ७ लाख ८६ हजार रुपैयाँ थियो । त्यस्तै, कम्पनीको कुल आम्दानी १७.३३ प्रतिशतले वृद्धि भएर ६३ करोड २४ लाख २४ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको कुल खर्च भने २५.०६ प्रतिशतले घटेर ५७ करोड ३६ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको तुलनात्मक अवधिमा कम्पनीको कुल खर्च ७६ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको थियो । आम्दानीमा भएको वृद्धि र खर्चमा आएको कमीले कम्पनीको नाफा सुधारमा योगदान पुर्‍याएको देखिन्छ ।यद्यपि, कम्पनीको कुल दाबी भुक्तानी ९७ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ३ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो अवधिमा यस्तो भुक्तानी ६८ करोड २ लाख २४ हजार रुपैयाँ थियो । त्यस्तै, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी ३५.०१ प्रतिशतले घटेर ४ करोड २८ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ ।कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख ६७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा जगेडा कोष १.२४ प्रतिशतले बढेर १ करोड ६८ लाख १९ हजार रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ २८.५१ प्रतिशतले वृद्धि भएर ८ करोड १५ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, कम्पनीको बीमा कोष ३२.१५ प्रतिशतले बढेर १ अर्ब ३१ करोड २९ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।बीमालेख जारी गर्ने संख्या पनि बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ लाख २ हजार ३१२ वटा बीमालेख जारी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ७९ हजार ४४० रहेको थियो ।

नाफामा फर्किएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मकबाट सकारात्मक बनेको छ । अघिल्लो अवधिमा २१ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको ईपीएस समीक्षा अवधिमा ५ रुपैयाँ ३० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९२ रुपैयाँ ७४ पैसा रहेको छ । यसरी बीमाशुल्क तथा कुल आम्दानीमा भएको वृद्धि र खर्चमा आएको कमीले शिखर इन्स्योरेन्सको वित्तीय अवस्थामा सुधार देखिएको छ ।

तपाईको प्रतिक्रिया