सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमणमा गएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा टोली आइतबार चीन प्रस्थान गरेको हो ।
भ्रमणमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता तथा सांसदहरू सहभागी छन् । टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अधिकारीहरूसँग राजनीतिक संवाद र अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा चीनको आर्थिक विकास, सुशासन, प्रविधि, औद्योगिक विकास र सार्वजनिक सेवा प्रवाहसम्बन्धी अभ्यासबारे जानकारी लिइने रास्वपाले जनाएको छ । टोलीले सिचुवान प्रान्तका उच्च प्रविधियुक्त उद्योग तथा औद्योगिक पार्कको अवलोकन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीको पार्टी स्कुलमा अन्तरक्रिया गर्नेछ ।
त्यस्तै, सन् २००८ को विनाशकारी भूकम्पपछि पुनर्निर्माण गरिएको वेनछुआन क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । रास्वपाले यस भ्रमणलाई दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार, अनुभव आदानप्रदान र विकासका अभ्यासबाट सिक्ने अवसरका रूपमा लिएको छ ।

Online Arthik










