नेकपा (एमाले) ले मंसिर ५ गते केन्द्रीय कमिटीको चौथो बैठक आयोजना गर्ने भएको छ । पार्टीले मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्दै संगठनात्मक गतिविधि र आगामी राजनीतिक रणनीतिलाई अघि बढाउने तयारी गरेको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला हुनेछ । कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलामा ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रममा केन्द्रीय सदस्यदेखि प्रदेश, जिल्ला तथा पालिका तहका नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ । त्यस्तै, मंसिर ४ गते ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ । यसमा एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन् ।यी कार्यक्रममार्फत पार्टीले संगठनलाई थप सुदृढ बनाउने, नेता तथा कार्यकर्ताबीच एकरूपता कायम गर्ने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय कार्यकर्ता भेलालाई अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय कार्यकर्ता भेला र स्थानीय जनप्रतिनिधिहरूको भेलाबाट प्राप्त सुझाव तथा निष्कर्षलाई मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा छलफल गरिने अपेक्षा गरिएको छ । उक्त बैठकले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्ने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया