आजदेखि छठ पर्व सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने चारदिने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले नहाय–खाय विधि गर्दैछन्। यसैबीच, छठ पूजाका लागि धनगढीस्थित मोहना घाटको सजावट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

छठ व्यवस्थापन समिति धनगढीका अध्यक्ष सन्तोष मण्डलका अनुसार घाट सजावटको काम करिब ८५ प्रतिशत सम्पन्न भएको छ। षष्ठी तिथिका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन ताल, तलैया वा नदी किनार आवश्यक पर्ने भएकाले सो दिनसम्म सम्पूर्ण तयारी पूरा गरिने उनले बताए। यस वर्ष मोहना घाटमा करिब २०० जना व्रतालुले सूर्यलाई अर्घ्य दिने अनुमान गरिएको छ। त्यसका लागि १५० भन्दा बढी स्टल तयार गरिएको अध्यक्ष मण्डलले जानकारी दिए।

भारतको गौरीफन्टा नाकासँग सीमा जोडिएको मोहना घाटमा सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासन र प्रहरीलाई आग्रह गरिएको पनि उनले बताए। व्रतालु तथा श्रद्धालुका अतिरिक्त अन्य व्यक्तिको समेत आवागमन हुने भएकाले षष्ठी तिथिको राति मोहना घाटमा दुईदेखि तीन हजारभन्दा बढी मानिसको उपस्थिति हुने अनुमान गरिएको छ। सोहीअनुसार सुरक्षा व्यवस्थापन मिलाउन आग्रह गरिएको अध्यक्ष मण्डलले बताए।

तपाईको प्रतिक्रिया