धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुल करिब १५ वर्षको प्रतीक्षापछि सञ्चालनमा आउने भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको पुल आगामी मंसिरको पहिलो सातादेखि सवारीसाधनका लागि खुला गर्ने लक्ष्य राखिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको मुख्य ढलान सम्पन्न भइसकेको छ। हाल पुलको दुवैतर्फ जोडिने सडकमा माटो भर्ने काम भइरहेको छ। उक्त काम पूरा भएपछि सवारी आवागमन खुला गरिने तयारी छ। कमला पुल निर्माणका लागि २०६८ सालमा पप्पु–लुम्बिनी जेभीले ठेक्का पाएको थियो। निर्माण सम्पन्न भई उद्घाटनको तयारी भइरहेका बेला २०७८ असारमा आएको बाढीले पुलको पिलर भत्काएपछि सञ्चालनको योजना रोकिएको थियो। त्यसपछि प्राविधिक समस्या र बीमा कम्पनीसँगको विवादका कारण आयोजना लामो समयसम्म अलपत्र परेको थियो।पुनर्निर्माणका क्रममा क्षतिग्रस्त १० नम्बर पिलर निर्माण गर्नुका साथै पुलको जग र अन्य तीनवटा पिलरको सबलीकरण गरिएको छ। बाँकी संरचनागत कामसमेत अन्तिम चरणमा पुगेपछि पुल सञ्चालनको तयारी अघि बढाइएको हो।पुल निर्माणमा भएको ढिलाइका कारण धनुषा र सिरहाका स्थानीयले वर्षौंदेखि आवागमनमा सास्ती भोग्दै आएका छन्। नदी वारपार गर्न डुङ्गाको सहारा लिनुपर्ने र वर्षायाममा नदीको बहाव बढ्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ। जनकपुरधाम र राजविराजबीच आवतजावत गर्ने यात्रुले समेत लामो वैकल्पिक बाटो प्रयोग गर्नुपरेको छ। पुल सञ्चालनमा आएपछि दुई जिल्लाबीचको आवागमन सहज हुनुका साथै कृषि उपजको ढुवानी, स्थानीय व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। साथै, विद्यालय र स्वास्थ्य संस्थासम्म स्थानीयको पहुँच सहज हुने विश्वास गरिएको छ।

यसैबीच, हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको कुल ४०६.४३ किलोमिटर सडकमध्ये ३४७.६३ किलोमिटर कालोपत्र भइसकेको छ। उक्त क्षेत्रमा २४ वटा पुलको निर्माणसमेत सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया