चिलिमे हाइड्रोपावर कम्पनीको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ठूलो गिरावट आएको छ। कम्पनीले यस अवधिमा ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २० करोड ५८ लाख ४१ हजार रुपैयाँको तुलनामा ९५.५४ प्रतिशत कम हो।
गत भदौ १० गते भोटेकोशी (त्रिशूली नदी प्रणाली) मा आएको भीषण बाढीका कारण जलविद्युत् केन्द्रमा क्षति पुगेपछि कम्पनीको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। बाढीले कर्मचारी आवास गृह, विद्युत् गृहका संरचना, मेसिनरी तथा उपकरण र टेलरेस क्षेत्रमा क्षति पुर्याएको कम्पनीले जनाएको छ। बाढीबाट आएको लेदो, गेग्रान र ढुङ्गाका कारण भौतिक संरचनामा व्यापक क्षति पुगेको हो।विद्युत् उत्पादन बन्द भएपछि कम्पनीको मुख्य आम्दानीको स्रोत विद्युत् बिक्री प्रभावित भएको छ। गत वर्षको पहिलो त्रैमासमा ३५ करोड ३० लाख ८२ हजार रुपैयाँ रहेको विद्युत् बिक्री आम्दानी चालु आर्थिक वर्षमा ११ करोड ४२ लाख ७२ हजार रुपैयाँमा झरेको छ। यससँगै विद्युत् बिक्री आम्दानी ६७.६४ प्रतिशतले संकुचित भएको छ।विद्युत् उत्पादनबाट हुने आम्दानी घटे पनि कम्पनीको अन्य आम्दानीतर्फ भने सुधार देखिएको छ। सहायक कम्पनीलाई उपलब्ध गराइएको अल्पकालीन सापट, बैंकको मुद्दती निक्षेपबाट प्राप्त ब्याज र चिलिमे टावरको बहाल आम्दानीमा वृद्धि भएको छ। यी स्रोतबाट प्राप्त आम्दानी गत वर्षको तुलनामा ७२ लाख १८ हजार रुपैयाँ अर्थात् २१.७८ प्रतिशतले बढेको कम्पनीले जनाएको छ। अन्य आम्दानीसमेत ६१६.६६ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, कम्पनीको प्रशासनिक खर्चमा उल्लेख्य वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा २ करोड ९ लाख ३ हजार रुपैयाँ रहेको यस्तो खर्च चालु आर्थिक वर्षमा बढेर ३ करोड ३१ लाख ४९ हजार रुपैयाँ पुगेको छ। वित्तीय आम्दानी भने सामान्य घटेर ३ करोड १९ लाख ३१ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३ करोड १९ लाख ६४ हजार रुपैयाँ थियो।समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा २ करोड ८५ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ। नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि ९.३८ रुपैयाँबाट घटेर ०.३९ रुपैयाँमा सीमित भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८७०.३१ गुणा रहेको छ।
कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ रहेको छ भने सञ्चित मुनाफा (रिटेन्ड अर्निङ) २ अर्ब २१ करोड ५६ लाख रुपैयाँ रहेको छ।

Online Arthik









