छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । चार दिनसम्म मनाइने यस पर्वको सुरुआत शुक्रबारदेखि भएको हो । सूर्यदेवको उपासना गरिने छठ पर्वमा व्रतालुले कठोर निराहार व्रत बसेर सूर्यको पूजा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार महाभारतकालदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ । यस पर्वमा सूर्यदेवको पूजा गरे दुःख, दरिद्रता र रोगबाट मुक्ति मिल्ने तथा परिवारको सुख, समृद्धि र सन्तानको कल्याण हुने जनविश्वास छ । छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । त्यसपछि रातभर जाग्राम बसेर भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।चार दिनसम्म चल्ने यस पर्वमा पहिलो दिन स्नान गरी शुद्ध भोजन गर्ने, दोस्रो दिन खरना गर्ने र तेस्रो दिन निराहार व्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन हुन्छ ।

तराई क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको छठ पर्व अहिले देशभर लोकप्रिय बनेको छ । राजधानीका गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी र कमलपोखरीलगायत स्थानमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ । साथै बागमती, नख्खु र विष्णुमती नदी किनारमा पनि पूजाको तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया