राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार डा. निश्चलनाथ पाण्डेलाई भारत, डा. कल्याणराज शर्मालाई चीन र सुरेशकुमार कर्णलाई इजरायलका लागि राजदूत नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरिएको हो । राष्ट्रपति पौडेलले सोमबार नै शीतल निवासमा आयोजित समारोहमा तीनै जना नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

यसअघि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले प्रस्तावित १३ जनामध्ये १० जनाको नाम अनुमोदन गरेको थियो । अनुमोदितमध्ये भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो प्राप्त भएपछि नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

तपाईको प्रतिक्रिया