नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । आजको कारोबारमा सुनको मूल्य १.१५ प्रतिशत अर्थात ३५.६५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य हालसम्मकै उच्च नजिक अर्थात प्रतिऔंस ३ हजार १४७ डलरमा कारोबार भईरहेको छ ।
विश्लेषकहरुले अमेरिकी ट्यारिफ अपेक्षा गरेभन्दा बढी कठोर भएको बताउदै सुनको भाउले ३२ सय डलरको आँकडा छिट्टै पार गर्ने अपेक्षा गरेका छन् ।
राजनीतिक र आर्थिक संकटका बेला सुरक्षित मानिने सुन यो वर्ष प्रतिऔंस ५ सय डलरभन्दा बढीले बढिसकेको छ । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात ३ हजार १४८ डलर पुगेको थियो । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ९९५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने ०.२१ डलरले घट्दै प्रतिऔंस ३३.३७ डलर कायम भएको छ ।

Online Arthik










