नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०७९ माघ ६ गते सम्पन्न २९ औं साधारण सभाबाट निर्वाचित कार्यसमितिले मंगलबार २६ महिनापछि नेतृत्व हस्तान्तरण गर्दैछ । कार्यकाल अवधिभर संघले धेरैजसो प्रतिबद्धता पूरा गर्नुका साथै केही एजेण्डाहरू अधुरो अवस्थामा छन् । जसलाई अब नयाँ नेतृत्वले निरन्तरता दिने जनाइएकाे छ ।
संघको यो कार्यकाल आरोह-अवरोहले भरिपूर्ण रहे पनि कार्यसमिति आफ्नो जिम्मेवारीबाट विचलित नभइकन अग्रसर रहेकाे संघले जनाएकाे छ । संघ स्थापना भएको ३२ वर्षपछि पहिलोपटक आफ्नै प्रशासनिक भवन खरिद गर्न सफल भएकाे छ, जुन संघको ठूलो उपलब्धी मानिएको छ ।
सो भवनको औपचारिक उद्घाटनसमेत भइसकेको संघले जनाएकाे छ ।
संघको कार्यसमितिभित्र देखिएको एकता र परिणाममुखी कार्यशैलीकै कारण पछिल्लो कार्यकाल उपलब्धीमूलक रहेको विज्ञप्तिमा उल्लेख छ । पदाधिकारीहरूबीचको समन्वय, पारदर्शी निर्णय र जिम्मेवारी निर्वाहले संघलाई सामाजिक, नीतिगत र व्यावसायीक दृष्टिले सबल बनाएकाे उल्लेख छ ।
वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित अघि बढेको संघले विभिन्न ऐतिहासिक कामहरू सम्पन्न गर्यो । यद्यपि केही दीर्घकालीन एजेण्डाहरू अझै अपुरो रहेकाले नयाँ नेतृत्वले अगाडि बढाउनु आवश्यक देखिएकाे विज्ञप्तिमा उल्लेख छ ।
संघको ३१ औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम २०८१ फागुन २ गते हुने तय भए पनि प्राविधिक कारणले स्थगित गरिएको थियो । त्यसपछि २०८२ असार १७ गते गर्ने निर्णय भए पनि संघले त्यसअघि नै २०८१ चैत्र २९ गते नै साधारणसभा तथा निर्वाचन गर्ने निर्णय भएको छ ।
वर्तमान कार्यसमितिको प्रमुख उपलब्धिहरू
आफ्नै प्रशासनिक भवन खरिद
वैदेशिक रोजगार विभाग परिसरमा गुनासो सुनुवाइका लागि मेलमिलाप कक्ष निर्माण
व्यवसायी तथा कामदारका करिब ३ हजार ४ सय उजुरीहरूको समाधान
सरकारी र गैरसरकारी संस्थासँग सहकार्य मजबुत
नीतिगत सुधार र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता
यूएईमा रोजगार मेला तथा साउदी, कतार, मलेसिया लगायत देशमा अन्तरक्रिया कार्यक्रम
नयाँ नियुक्त नेपाली कुटनैतिक प्रतिनिधिसँग निरन्तर समन्वय
सदस्य संख्या झण्डै १ हजार
व्यवसायीमाथि हुने आक्रमण विरुद्ध एकता र सुरक्षाको प्रत्याभूति
वैदेशिक रोजगार ऐन संशोधनमा महत्त्वपूर्ण प्रगति
मलेसियामा कामदारमाथि लगाइएको ४४५ शुल्क विरुद्ध सफल आन्दोलन
धरौटीबाट २५५ व्याज वैदेशिक रोजगार कोषमा लगानी

Online Arthik










