हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ३.८८ प्रतिशतले बढेर ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । जसका कारण नाफा बढेको हो ।
समिक्षा अवधिमा इन्स्योरेन्सिको कुल आम्दानी पनि १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँबाट बढेर १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि १६ अर्ब २६ करोड रुपैयाँबाट बढेर १७ अर्ब १४ करोड रुपैयाँ नाघेको छ।
चैतमसान्तसम्म आइपुग्दा गत वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १.३३ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
नौं अर्ब १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जीवन बीमा कोषमा ७३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४७ करोड ८ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा एक अर्ब ९ करोड ९० लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनको खर्च पनि घटाएको छ । चैत मसान्तसम्म इन्स्योरेन्सले अभिकर्ता कमिशनमा ९८ करोड ६४ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९९ करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो ।
यस अवधिमा कम्पनीको नाफा बढेपनि वार्षिक प्रतिशेयर आम्दानी भने घटेको छ । गत वर्षको चैतसम्म ७.२४ रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी घटेर ६.७५ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ६१.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११६.७ रुपैयाँ रहेको छ

Online Arthik










