जेठ १६ गते आयोजित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा ‘पूँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आयोजित कार्यक्रममा नेप्सेका ९२ कारोबार सदस्य (ब्रोकर र डिलर) का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधि सम्बद्ध कर्मचारीको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गरेका थिए। उद्घाटन मन्तव्यमा उनले अर्थतन्त्रमा वित्तीय क्षेत्रमा हुने क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने हुनाले वित्तीय बजारमा नियमन र सुपरिवेक्षणमा राज्यले विशेष महत्व दिने बताए। ‘धितोपत्र बजार सम्बन्धमा पनि विभिन्न नियामकीय व्यवस्थाहरु गरिएका छन् । बजार सहभागीहरुलाई नियमन र सुपरिवेक्षणको साथसाथै क्षमता अभिवृद्धि गर्न यस प्रकारका कार्यक्रमहरु पनि निरन्तर संचालन भइराख्नु पर्दछ,’ उनले भने ।
कार्यक्रमका सभापति तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईले प्रविधि, सुशासन र अनुपालन हाल पुँजी बजारको सबैभन्दा महत्वपूर्ण विषय भएकाले सो लाई ध्यानमा राखी कार्यक्रमका आयोजना गरिएको बताए । ‘यस कार्यक्रमबाट सम्पूर्ण कारोबार सदस्यहरु लाभान्वित हुने अपेक्षा मैले गरेको छु,’ उनले भने, ‘यसबाट लगानीकर्तालाई सहज, सुरक्षित र विश्वसनीय कारोबार सेवा प्रदान गर्न मद्दत मिल्नेछ ।’
सहआयोजक संस्था स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जमा पछिल्लो समयमा देखिएका सकारात्मक परिवर्तनको चर्चा गरे । उनले पूँजी बजार सुदृढीकरणका लागि सम्बद्ध सबै निकायले एउटै धारणा लिएर अगाडि बढ्नुपर्ने बताए ।

Online Arthik










