चितवनको भरतपुरमा अवस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले धितोपत्र बोर्डको नियमावली र निर्देशिकाअनुसार आवश्यक स्वीकृति प्राप्त गरेपछि शेयर निष्कासन प्रक्रिया अघि बढाउने बताएको छ ।

सो कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।  आयोजित औपचारिक सम्झौता कार्यक्रममा होटल सिराइचुली तर्फबाट अध्यक्ष चुडामणी खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच सम्झौतामा हस्ताक्षर गरिएको हो ।

कार्यक्रममा होटल सिराइचुलीका प्रबन्ध सञ्चालक विष्णु कुँवर र सञ्चालक बाबुराम उपाध्यायको पनि उपस्थिति रहेको थियो ।

भरतपुर–१० मा अवस्थित सिराइचुली होटल एक आधुनिक र सुविधासम्पन्न चारतारे होटल हो । होटलमा समकालीन आवास, मल्टिकुजिन रेस्टुरेन्ट, ३ वटा बैंक्वेट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पूल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा लगायतका सेवा उपलब्ध छन् ।

होटलको विशेषता भनेको हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न मिल्ने सिटी सेन्टर लोकेशनमा रहेको शानदार सुविधा हो, जसले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने कम्पनीको विश्वास छ ।

 

तपाईको प्रतिक्रिया