गुराँस लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आइएमई बैंकका सेयरधनीहरूका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी तीनै कम्पनीले लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनका लागि आगामी दिनहरूमा बुकक्लोज गर्ने भएका छन्। गुराँस लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले भोलि कात्तिक १४ गते, जबकि ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुकक्लोज गर्नेछन्। त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नाम कायम भएका सेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।
ग्लोबल आइएमई बैंकले आफ्नो १९औँ वार्षिक साधारण सभा कात्तिक २६ गते बिहान १० बजे प्रज्ञा भवन, कमलादी, काठमाडौंमा बोलाएको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। गुराँस लघुवित्त वित्तीय संस्थाले कात्तिक २३ गते बिहान ९ बजे धनकुटामा १०औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले २०८१/८२ को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर (१ करोड ६५ लाख ८ हजार रुपैयाँ) र ०.७५ प्रतिशत नगद लाभांश (८ लाख ६८ हजार रुपैयाँ) गरी कुल १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले २०८१/८२ को नाफाबाट ८ प्रतिशत बोनस सेयर (५ करोड ५९ लाख ९३ हजार रुपैयाँ) र ०.४२ प्रतिशत नगद लाभांश (२९ लाख ४७ हजार रुपैयाँ) गरी कुल ८.४२ प्रतिशत लाभांश (५ करोड ८९ लाख ४० हजार रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको छ।
यसरी आजसम्म कारोबार गरी नाम दर्ता भएका सेयरधनीहरूले यी तीन कम्पनीका लाभांश तथा सभामा सहभागिता दुबै अधिकार सुरक्षित गर्न सक्नेछन्।

Online Arthik









