महालक्ष्मी विकास बैंकले आफ्नो २४औं वार्षिक साधारण सभा पुस २१ गते आयोजना गर्ने निर्णय गरेको छ। मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकपछि सभा काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुने जानकारी दिइएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजीका आधारमा ५ प्रतिशत बोनस सेयर तथा ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
त्यसैगरी सोही वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण छलफल गरी अनुमोदन गर्ने छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
सभामा संस्थापक समूहबाट ३ जना तथा सर्वसाधारण समूहबाट ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन हुनेछ। साथै स्वतन्त्र सञ्चालकको नियुक्ति सम्बन्धी जानकारी प्रस्तुत गरिने र बैंकको कर्पोरेट भवन निर्माणका लागि आवश्यक जग्गा वा भवन खरिद गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र लाभांश प्राप्ति र सभामा सहभागी हुन योग्य ठहरिनेछन्।

Online Arthik










