त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने निर्णय गरेपछि स्वास्थ्य बीमा कार्यक्रमको दाबी भुक्तानी र व्यवस्थापन विषय फेरि चर्चामा आएको छ । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाअन्तर्गत दाबी गरिएका करिब आधा रकम अस्वीकृत भएको र समयमै भुक्तानी नपाएको कारण सेवा बन्द गर्नुपरेको जनाएको छ ।

यसैबीच, सोही स्तर वा अझ बढी सेवा प्रदान गर्ने सरकारी भरतपुर अस्पतालको अवस्था भने फरक देखिएको छ । भरतपुर अस्पतालले स्वास्थ्य बीमाबाट पाउनुपर्ने रकम त्रिवि शिक्षण अस्पतालभन्दा बढी भए पनि अस्वीकृत दर करिब दुई प्रतिशत मात्रै रहेको छ । अस्पतालले स्वास्थ्य बीमा दाबी भुक्तानी र व्यवस्थापनका लागि छुट्टै व्यवस्थित संरचना बनाएर काम गरिरहेको छ, जसका कारण देशभरका अस्पतालका बीमा हेर्ने कर्मचारी र प्रशासकहरू यहाँ अध्ययन र अनुभव साटासाटका लागि आउने गरेका छन् ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेस मल्लका अनुसार बोर्डमा आबद्ध अस्पतालहरूको औसत अस्वीकृत दर करिब २० प्रतिशत रहेको छ । त्रिवि शिक्षण अस्पतालले उल्लेख गरेको ५० प्रतिशत अस्वीकृत दर अत्यधिक भएको भन्दै उनले बोर्डको कार्यविधि र निर्देशिका अनुरूप काम नगर्दा यस्तो अवस्था आएको बताए । दाबी गर्न नमिल्ने सेवामा समेत उपचार गरी दाबी पेश गरिएकाले अस्वीकृत बढेको उनको भनाइ छ ।

भरतपुर अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार साउन, भदौ र असोज तीन महिनाको अध्ययन गर्दा अस्वीकृत दर औसत २.४ प्रतिशत मात्रै रहेको छ । साउनमा १.५, भदौमा २.८ र असोजमा ३.३ प्रतिशत अस्वीकृत भएको तथ्यांकले निर्देशिका अक्षरशः पालना गर्दा अस्वीकृत दर न्यून रहने पुष्टि गरेको उनले बताए ।

पौडेलका अनुसार बोर्डको निर्देशिका र कार्यविधि कडाइका साथ पालना गर्दा सेवाग्राहीलाई बुझाउन समय लागे पनि यसले अस्पतालको आर्थिक व्ययभार घटाउन सहयोग पुगेको छ । भरतपुर अस्पतालको स्वास्थ्य बीमा शाखामा १८ जना कर्मचारीले २४ सै घण्टा आलोपालो काम गर्दै दाबी भुक्तानीसम्बन्धी मापदण्डभित्र रहेर सेवा प्रवाह र कागजात व्यवस्थापन गर्दै आएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले दक्ष जनशक्ति, प्रविधिको उच्चतम प्रयोग र व्यवस्थित प्रणालीका कारण अस्वीकृत दर कम भएको बताए । उनका अनुसार हाल पनि स्वास्थ्य बीमा बोर्डबाट ६० करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी छ । आर्थिक वर्ष २०७४/७५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको भरतपुर अस्पतालले गत आर्थिक वर्षको अन्त्यसम्म १४ लाख ७६ हजार ९०३ पटक सेवा प्रदान गर्दै २ अर्ब ४७ करोड ४८ लाख रुपैयाँभन्दा बढी भुक्तानी प्राप्त गरिसकेको छ ।

नेपालभर हाल ५१० अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । ती अस्पतालहरूले दैनिक १० करोड रुपैयाँभन्दा बढीको दाबी स्वास्थ्य बीमा बोर्डमा पेश गर्ने गरेका छन् । बोर्डका अनुसार एक करोड नागरिक बीमामा आबद्ध भए पनि ६८ लाख मात्रै सक्रिय छन् । बोर्डले हालसम्म अस्पतालहरूलाई १०.५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ, जसका कारण धेरै अस्पतालले बीमा कार्यक्रम सञ्चालनमा कठिनाइ भएको गुनासो गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया