शैलेश्वरी पावर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न आगामी फागुन १० गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीका अनुसार सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, आईपीओबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरी पारित गरिनेछ ।
सभाबाट प्रस्ताव पारित भएपछि आईपीओ निष्कासनसम्बन्धी थप प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने कम्पनीले जनाएको छ । यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने तथा सो अवधिका वित्तीय विवरणहरू स्वीकृत गरिनेछन् । चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ ।
शैलेश्वरी पावर नेपालले निर्माण गरेको माथिल्लो गड्डीगाड जलविद्युत आयोजना डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकामा अवस्थित रहेको छ । यो आयोजना रन–अफ–रिभर प्रकृतिको जलविद्युत आयोजना हो ।
गड्डीगाड नदीको भरपर्दो बहाव उपयोग गरी स्वच्छ तथा नवीकरणीय विद्युत उत्पादन गर्दै राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउने लक्ष्य आयोजना रहेको छ । आयोजनामा गड्डीगाड नदीको ४० प्रतिशत भरपर्दो बहाव प्रयोग गरिनेछ भने यसको डिजाइन बहाव २.०१ घन मिटर प्रति सेकेन्ड रहेको छ ।

Online Arthik










