सागर डिस्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बिक्री आम्दानी उल्लेख्य रूपमा बढाए पनि खर्च नियन्त्रणमा असफल हुँदा कम्पनीको घाटा थप विस्तार भएको छ। समीक्षा अवधिसम्म कम्पनीले २ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ करोड ४५ लाख रुपैयाँ घाटाभन्दा उल्लेख्य रूपमा बढी हो।

कम्पनीको बिक्री आम्दानी ३ करोड ७६ लाख रुपैयाँबाट बढेर ६ करोड १ लाख रुपैयाँ पुगेको छ। तर, अन्य सञ्चालन आम्दानी भने १ करोड ३४ लाख रुपैयाँबाट घटेर ४२ लाख ६० हजार रुपैयाँमा सीमित बनेको छ।

आम्दानी वृद्धि भए पनि खर्चतर्फ तीव्र बढोत्तरी देखिएको छ। कर्मचारी सुविधा खर्च १ करोड ४९ लाख रुपैयाँबाट बढेर २ करोड ९१ लाख रुपैयाँ पुगेको छ। प्रशासनिक तथा अन्य खर्च ५० लाख ८२ हजार रुपैयाँबाट बढेर ६१ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने बिक्री तथा वितरण खर्च १ करोड ८० लाख रुपैयाँबाट बढेर २ करोड १ लाख रुपैयाँमा उक्लिएको छ। त्यस्तै, वित्त खर्च पनि ९५ लाख ६९ हजार रुपैयाँबाट बढेर १ करोड २० लाख रुपैयाँ पुगेको छ, जसले ऋण भार र ब्याज लागतको दबाब बढेको संकेत गर्दछ।

समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ७७ करोड ८८ लाख रुपैयाँ र कुल चालु दायित्व ४१ करोड ४४ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.२१ रुपैयाँले ऋणात्मक रहेको छ भने तरलता अनुपात १.८८ र प्रतिसेयर नेटवर्थ १२८.३४ रुपैयाँ कायम भएको छ।

तपाईको प्रतिक्रिया