शुभम् पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा वृद्धिको संकेत दिएको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४६ लाख ३२ हजार रुपैयाँको तुलनामा १६८ प्रतिशतभन्दा बढी वृद्धि हो। यद्यपि कम्पनीको मुख्य आम्दानी स्रोत विद्युत बिक्री घटेको अवस्थामा नाफा वृद्धि भने गैर–सञ्चालन आम्दानी र खर्च कटौतीको प्रभावले सम्भव भएको देखिएको छ।
विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी १ करोड ३० लाख रुपैयाँबाट घटेर १ करोड २० लाख रुपैयाँमा सीमित भएको छ। तर अघिल्लो वर्ष सोही अवधिमा शून्य रहेको गैर–सञ्चालन आम्दानी यस वर्ष ८६ लाख रुपैयाँ पुगेको छ, जसले नाफा वृद्धिमा मुख्य योगदान दिएको देखिन्छ। साथै, प्रशासनिक खर्च १६ लाख १२ हजार रुपैयाँबाट घटेर ८ लाख ४३ हजार रुपैयाँमा झरेको छ भने वित्त खर्च पनि १९ लाख ३२ हजार रुपैयाँबाट घटेर १३ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ।
२० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २४ लाख रुपैयाँले धनात्मक बनेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १ करोड ५ लाख रुपैयाँ ऋणात्मक थियो। यसलाई कम्पनीको वित्तीय सुदृढीकरणको संकेतका रूपमा हेरिएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२३.७६ रुपैयाँ, पीई रेसियो १३८.०३ गुणा र तरलता अनुपात २.९७ प्रतिशत कायम भएको छ।

Online Arthik










