शिखर पावर डेभलपमेन्ट कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर बाँडफाँट गरी, आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ। यसमध्ये १८ लाख ४२ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि बाँकी रहेको छ, बाँकी सेयर वैदेशिक रोजगारमा रहेका, प्रभावित, कर्मचारी र म्युचुअल फन्डका लागि छुट्याइएको छ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयर आवेदन दिन सकिनेछ। आवेदन मेरोसेयर अनलाइन प्रणालीमार्फत फागुन २६ देखि चैत १ गतेसम्म गर्न सकिने कम्पनीका बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएका छन्।
कम्पनीले बागलुङमा ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ। सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ। आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रति सेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा र प्रति सेयर आम्दानी ३.६९ रुपैयाँ ऋणात्मक रहेको छ। इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ।

Online Arthik









