फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक चैत दोस्रो साता गर्ने तयारी संसद सचिवालय नेपाल ले थालेको छ। सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदको बहुउद्देश्यीय हल एक–दुई दिनमै तयार हुँदैछ र सोही हलमा प्रतिनिधिसभा सञ्चालन गर्ने योजना रहेको छ।
फागुन २१ मा सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूको संसदीय यात्रा अब औपचारिक रूपमा सुरु हुने चरणमा पुगेको छ। सचिवालयले चैत १२ गतेभित्र नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रम सम्पन्न गर्ने र चैत १५ गते पहिलो बैठक बसाल्ने गरी तयारी तीव्र बनाएको जनाएको छ।
निर्वाचन आयोग नेपाल का अनुसार आयोगले चैत ५ गते राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेस गर्नेछ। सोही दिन संसद सचिवालयलाई निर्वाचित सदस्यहरूको नामावली उपलब्ध गराइनेछ। नामावली प्राप्त भएपछि सांसदहरूलाई शपथ कार्यक्रममा उपस्थित हुन सात दिनको सूचना जारी गर्ने चलन रहेको छ। यस अवधिमा शपथ समारोहका लागि राष्ट्रपतिको समय मिलाउन औपचारिक पत्राचारसमेत अघि बढाइनेछ।
प्रवक्ता गिरीका अनुसार नयाँ सभामुख चयन नभएसम्मका लागि सबैभन्दा ज्येष्ठ सदस्यलाई अस्थायी रूपमा सभामुखको जिम्मेवारी दिइन्छ। राष्ट्रपतिले उक्त ज्येष्ठ सदस्यलाई अन्य सांसदभन्दा अघि शपथ गराउने व्यवस्था छ।
यी सबै प्रक्रिया पूरा भएपछि चैत १५ गतेसम्म प्रतिनिधिसभाको पहिलो बैठक बस्न सक्ने तयारी रहेको सचिवालयले जनाएको छ। यदि चैत १२ वा १३ गतेभित्र सरकार गठन सम्पन्न भएमा सोही मितिमा बैठक बस्ने सम्भावना अझ बलियो हुने बताइएको छ।

Online Arthik









