‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँट कार्य सम्पन्न भएको छ।

प्रति इकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाईका लागि २०८२ फागुन २८ देखि चैत ११ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको थियो।उक्त अवधिमा बीज पूँजीसहित १,०६,७९४ आवेदकबाट ७१ करोड ५७ लाख ८३ हजार २०० रुपैयाँ बराबरको ७ करोड १५ लाख ७८ हजार ३२० इकाईका लागि आवेदन परेको थियो, जुन माग गरिएकोभन्दा बढी हो।प्राप्त आवेदनमध्ये रीतपूर्वक नदेखिएका १७० आवेदकका ४१ हजार इकाई बाहेक, बाँकी १,०६,६२४ योग्य आवेदकलाई उनीहरूले माग गरेअनुसार नै कुल ७ करोड १५ लाख ३७ हजार ३२० इकाई बाँडफाँट गरिएको छ।नेपाल धितोपत्र बोर्डबाट १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशनको स्वीकृति प्राप्त भइसकेको र अधिकतम १० करोड इकाईसम्म बिक्री गर्न सकिने प्रावधान रहेकाले, पहिलो चरणमा आह्वान गरिएको ५ करोड इकाईभन्दा बढी माग आए पनि सबै योग्य लगानीकर्तालाई निर्देशिका २०७४ अनुसार मागअनुसार इकाई उपलब्ध गराइएको क्यापिटलले जनाएको छ।बाँडफाँट कार्यक्रम आइतबार गरिमा क्यापिटलको केन्द्रीय कार्यालय, कमलपोखरीमा सम्पन्न भएको थियो। बाँडफाँट भएको मितिबाट तीन महिनापछि योजनाको इकाई नियमित खरिद–बिक्री तथा सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान (SIP) का लागि खुला गरिनेछ।

यस निष्काशन प्रक्रियालाई सफल बनाउन सहयोग गर्ने निकायहरू तथा लगानीकर्ताप्रति गरिमा क्यापिटलले आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया