नेपालबाट सफ्टवेयर तथा सूचना प्रविधि (आईटी) सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सरकारले थप सटही सुविधा उपलब्ध गराउने भएको छ। नेपाल राष्ट्र बैंक ले ‘एकीकृत परिपत्र–२०८२’ जारी गर्दै आईटी निर्यातकर्ताहरूका लागि वार्षिक ५ हजार अमेरिकी डलरसम्मको प्रिपेड डलर कार्ड सुविधा दिने व्यवस्था गरेको हो।
यसअघि सामान्य आईटी उद्योगहरूले अनलाइन सेवा खरिदका लागि वार्षिक ३ हजार डलरसम्मको सीमा पाउने व्यवस्था थियो। तर निर्यातमा संलग्न कम्पनीहरूको हकमा भने राष्ट्र बैंकले थप लचिलो नीति अपनाउँदै विदेशी मुद्रा आर्जनको आधारमा थप २ हजार डलर सुविधा दिने व्यवस्था गरेको छ, जसले कुल सीमा ५ हजार डलर पुर्याएको छ।
यो निर्णयले विशेषगरी अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका नेपाली स्टार्टअप तथा सफ्टवेयर कम्पनीहरूलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अब यस्ता कम्पनीहरूले क्लाउड स्टोरेज, सर्भर होस्टिङ र विभिन्न आवश्यक सफ्टवेयर सेवा खरिद गर्न आर्जित रकमको केही हिस्सा सहज रूपमा प्रयोग गर्न सक्नेछन्, जसले व्यवसाय विस्तारमा टेवा पुर्याउनेछ।

Online Arthik










