नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ, जसबाट एक हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। कम्पनीले वैशाख २१ र २२ गते काठमाडौंस्थित प्रधान कार्यालय परिसरमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल तथा युरिक एसिडलगायतका परीक्षण निःशुल्क रूपमा गरिनुका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गरिएको थियो, जसबाट कुल ६०१ जनाले सेवा लिएका छन्। त्यसैगरी, सातै प्रदेशका १३ स्थानमा एकैसाथ आयोजित रक्तदान कार्यक्रममार्फत कुल ५०५ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ। ‘किनकि, जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गर्दै आएको कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको दाबी गरेको छ। देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वार्षिकोत्सवका अवसरमा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग, विश्वास र सहकार्य प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया