पाकिस्तान दूतावास, काठमाडौंले आज १३औँ वार्षिक “राजदूत अफ पाकिस्तान निबन्ध लेखन प्रतियोगिता” तथा ९औँ वार्षिक “राजदूत अफ पाकिस्तान वक्तृत्वकला प्रतियोगिता–२०२६” को पुरस्कार वितरण समारोह आयोजना गरेको छ। नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाशमी प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो।

यस वर्ष पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्ना को १५०औँ जन्मजयन्तीको अवसर पारेर “संवैधानिक माध्यममार्फत पाकिस्तानको मागलाई मूलधारमा ल्याउन क्वाइद-ए-आजम मोहम्मद अली जिन्नाहको भूमिका” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा विश्व निकेतन मावि का प्रतीक पोखरेल प्रथम,चन्दबाग स्कूल  का दक्षेश घिमिरे द्वितीय तथा प्राञ्जली वर्ल्ड स्कूल का नितिन थापा तृतीय भएका छन्। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै उत्कृष्ट १२ अन्य विद्यार्थीलाई पनि विशेष नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको दूतावासले जनाएको छ।त्यसैगरी, वक्तृत्वकला प्रतियोगितामा उच्च माध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थीहरूले “के कृत्रिम बौद्धिकता (AI) ले पुस्तकालयलाई विस्थापित गर्नेछ?” विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए। प्रतियोगितामा रिलायन्स कलेज की विश्वकला नेपाल प्रथम, राष्ट्रिय कानून कलेजका छिरिङ तामाङ द्वितीय तथा सेन्ट जेभियर कलेज माइतीघरका विप्युम चौलागाईं तृतीय भएका छन्। उनीहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो भने सहभागी अन्य १२ विद्यार्थीलाई पनि प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

नेपालभरका ५० भन्दा बढी उच्च माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूले दुवै प्रतियोगितामा सहभागिता जनाएका थिए। पछिल्ला दुई सातादेखि चरणबद्ध रूपमा सञ्चालन गरिएका यी प्रतियोगिताहरू आजको पुरस्कार वितरण समारोहसँगै सम्पन्न भएका हुन्।समारोहलाई सम्बोधन गर्दै राजदूत अब्रार एच हाशमी ले विद्यार्थीहरूको समसामयिक तथा ऐतिहासिक विषयप्रतिको गम्भीर सोच र विश्लेषण क्षमताको प्रशंसा गर्नुभयो। उहाँले संवैधानिक प्रयास तथा क्वाइद-ए-आजमको योगदानबारे विद्यार्थीहरूले प्रस्तुत गरेका विचारले नेपाल र पाकिस्तानबीच युवा पुस्तामा आपसी समझदारी तथा मित्रवत सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने बताउनुभयो।

दूतावासका अनुसार निबन्ध लेखन प्रतियोगिता लगातार १३ वर्षदेखि तथा वक्तृत्वकला प्रतियोगिता ९ वर्षदेखि आयोजना हुँदै आएको छ। यी प्रतियोगिताहरू नेपाली युवामाझ लोकप्रिय बन्दै गएका छन् र देशभरका उत्कृष्ट विद्यार्थीहरूको सहभागिता आकर्षित गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया