चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्म पाँच लाख ७३ हजार ९७७ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चार लाख २० हजार ८६ जना आन्तरिक तथा एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्।

प्रहरी निरीक्षक सन्तोष बस्याल का अनुसार आन्तरिक पर्यटकमध्ये दुई लाख १९ हजार ८१७ पुरुष र दुई लाख २६९ महिला रहेका छन्। बाह्य पर्यटकतर्फ ९० हजार ९५७ पुरुष तथा बाँकी महिला पर्यटक रहेको उल्लेख गरिएको छ।म्याग्दी–मुस्ताङ सीमास्थित घाँसा प्रहरी चेक पोस्ट मा प्रविष्ट तथ्याङ्कअनुसार सबैभन्दा कम साउन महिनामा १९ हजार ७९१ पर्यटक आएका थिए भने सबैभन्दा बढी वैशाखमा एक लाख पाँच हजार ५०३ जना पर्यटक मुस्ताङ पुगेका छन्।चालु आवको दश महिनामा कोरला सडकमार्ग हुँदै एक लाख ३१ हजार ६७२ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेका छन्। वसन्त ऋतु सुरु भएसँगै चैत र वैशाख महिनामा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको प्रहरीको भनाइ छ।त्यस्तै, असोजमा ७५ हजार ५९९ र कात्तिकमा ८३ हजार ७६६ पर्यटक मुस्ताङ पुगेका थिए। विशेषगरी नेपाली तथा भारतीय पर्यटकहरू मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङ पुग्ने गरेका छन्। प्रहरीका अनुसार बाह्य पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय नागरिक हुने गरेका छन्।गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। त्यसमध्ये पाँच लाख ५५ हजार ३२६ आन्तरिक र एक लाख ५० हजार ४५३ बाह्य पर्यटक रहेका थिए।प्रहरी निरीक्षक बस्यालका अनुसार भदौ महिनामा भएको जेनजी युवाको आन्दोलन तथा मध्यपूर्वमा इजरायलइरान बीचको द्वन्द्वका कारण पर्यटन क्षेत्रमा आंशिक असर परेको थियो।

धार्मिक पर्यटनसँगै कागबेनी मा श्राद्ध–तर्पण, कोरला नाका अवलोकन तथा लोमान्थाङ भ्रमणका लागि पनि पर्यटकहरूको आकर्षण बढिरहेको छ। हिमाली भूगोल, जैविक विविधता, कला–संस्कृति र मौलिक जीवनशैलीका कारण मुस्ताङ नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको सरोकारवालाहरू बताउँछन्।

तपाईको प्रतिक्रिया