विशाल ग्रुप अन्तर्गत सञ्चालित पेय पदार्थ उत्पादक कम्पनी साउथ एसियन वेभरेज को व्यापार पछिल्ला तीन वर्षयता निरन्तर बढे पनि कम्पनीको वित्तीय अवस्था अझै कमजोर रहेको देखिएको छ।

लगातार घाटा, बढ्दो ऋणभार र कमजोर तरलताका कारण कम्पनीले बैंक ऋणको साँवा–ब्याज भुक्तानीमा समेत दबाब सामना गरिरहेको जनाएको छ।आर्थिक वर्ष २०२५ मा कम्पनीले FrootiAppy जस्ता पेय पदार्थ बिक्रीबाट ४१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २३.६६ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०२४ मा कम्पनीको व्यापार ३३ करोड ८० लाख रुपैयाँ र आर्थिक वर्ष २०२३ मा ३१ करोड २० लाख रुपैयाँ रहेको थियो।व्यापार विस्तार भए पनि कम्पनी सञ्चालन स्तरमै घाटामा रहेको छ। आर्थिक वर्ष २०२४ मा सञ्चालन नाफा मार्जिन ३७.६ प्रतिशत ऋणात्मक रहेकोमा आर्थिक वर्ष २०२५ मा पनि २५.३ प्रतिशत ऋणात्मक नै रहेको रिपोर्टमा उल्लेख छ।बजारमा अपेक्षाअनुसार माग सिर्जना हुन नसक्नु, कच्चा पदार्थको उच्च मूल्य तथा सञ्चालन खर्च बढ्नु घाटाको मुख्य कारण मानिएको छ।

लगातारको नोक्सानीका कारण कम्पनीको पूँजी संरचनामा समेत दबाब परेको छ। आर्थिक वर्ष २०२५ सम्म कम्पनीको कुल ऋण र खुद सम्पत्तिको अनुपात करिब पाँच गुणा पुगेको छ भने कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात ५.३ गुणासम्म पुगेको देखिएको छ।तरलता अवस्था पनि कमजोर रहेको छ। आर्थिक वर्ष २०२५ मा नेट वर्किङ क्यापिटल सञ्चालन आम्दानीको करिब ६५ प्रतिशत पुगेको थियो, जुन अघिल्लो वर्ष ८४ प्रतिशत थियो। चालु अनुपात पछिल्ला तीन वर्षमा क्रमशः ०.८, ०.९ र ०.७ गुणामा सीमित रहेको छ।यही अवस्थालाई आधार मान्दै इक्रा नेपाल ले कम्पनीको दीर्घकालीन ऋणतर्फको रेटिङ घटाएर ‘बी माइनस’ मा झारेको छ भने अल्पकालीन रेटिङ ‘एफोर’ स्तरमै कायम राखेको छ। कम्पनीले कुल १ अर्ब ३३ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ। यसमध्ये ७९ करोड २० लाख रुपैयाँ दीर्घकालीन तथा ५४ करोड ३० लाख रुपैयाँ अल्पकालीन कर्जा रहेको छ।सन् २०२१ मा स्थापना भएको कम्पनीले Parle Agro सँग फ्रेन्चाइज सम्झौता गरी नेपालमा ‘फ्रुटी’ र ‘एप्पी’ लगायतका पेय पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको छ। कम्पनीले सन् २०२५ अप्रिलदेखि ‘स्मुथ’ नामक दूधजन्य पेय पदार्थ पनि बजारमा ल्याएको जनाएको छ।

कम्पनीको उद्योग पर्साको बिन्दवासिनी गाउँपालिकामा अवस्थित छ। कम्पनीको शेयर स्वामित्व अग्रवाल परिवारका सदस्यहरूसँग रहेको छ भने अध्यक्ष विशाल अग्रवाल रहेका छन् ।

तपाईको प्रतिक्रिया