नेपालको पहिलो वाइन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा मकालु वाईन इन्डस्ट्रीजका अध्यक्ष पिताम्बर पोख्रेल तथा रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।वि.सं. २०५२ सालमा धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको कम्पनीले विगत ३१ वर्षदेखि करिब २,८०० मिटर उचाइमा रहेको प्राकृतिक मुहानको पानी तथा जंगलमा पाइने चुत्रो र ऐंशेलुबाट अर्गानिक ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय वाइन उत्पादन गर्दै आएको कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको बताइएको छ।कम्पनीमा देवश्री भेन्चर, हारभेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताको समेत लगानी रहेको छ। साथै, कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन गरिने तीन प्रकारका प्रिमियम वाइन बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ।

आईपीओ निष्काशनको तयारीसँगै मकालु वाईन इन्डस्ट्रीजले आफ्नो उत्पादन क्षमता विस्तार, ब्राण्ड प्रवर्द्धन तथा व्यवसायिक विस्तारलाई थप गति दिने लक्ष्य राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया