काठमाण्डौ उपत्यकामा आगामी साउन १ गतेदेखि महिलाका लागि निःशुल्क ‘ब्लू बस’ सेवा सञ्चालन हुने भएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यले पहिलो चरणमा आठ वटा ब्लू बस सञ्चालन गर्न लागिएको हो। पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने लक्ष्य रहेको छ। सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा सहमतिका लागि पत्राचार गरिसकेको छ। मन्त्रालयको स्वीकृति प्राप्त भएपछि साउन १ गतेदेखि सेवा सुरु गरिनेछ।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ क्षेत्रमा चार वटा बस सञ्चालन हुनेछन्। चक्रपथका चारमध्ये दुई वटा बस क्लकवाइज र दुई वटा एण्टिक्लकवाइज दिशामा चलाइने मन्त्रालयले जनाएको छ।

Online Arthik










