राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई घरमै बसेर कर्जाका लागि आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन’ सेवा सञ्चालनमा ल्याएको छ।
नेपाल सरकारको सुशासन तथा नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार ग्राहक सेवालाई थप सरल, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ।बैंकका अनुसार डिजिटल माध्यमबाटै कर्जा आवेदन दिन सकिने व्यवस्था गरिएकाले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात तथा आवेदनको अवस्थाबारे ग्राहकमा रहने अन्योल हट्नेछ। यसबाट कर्जा प्रक्रिया थप छिटो, सहज, झन्झटरहित र पारदर्शी हुने अपेक्षा गरिएको बैंकको भनाइ छ।कर्जा आवेदन दिन बैंकको आधिकारिक वेबसाइटको ‘कुइक एसेस’ अन्तर्गत रहेको ‘अनलाइन लोन एप्लिकेसन’मा क्लिक गरी ‘आरबीबी एक्समार्ट लेन्डिङ डिजिटल लोन पोर्टल’मा प्रवेश गर्नुपर्नेछ। त्यसपछि इमेल, युजरनेम र पासवर्ड प्रयोग गरी दर्ता गरेर आवश्यक व्यक्तिगत विवरण भरी आवेदन पेस गर्न सकिनेछ।आवेदन पेस गरेपछि ग्राहकले आफ्नो आवेदनसम्बन्धी जानकारी प्राप्त गर्नेछन्। साथै, ‘ट्र्याक प्रोग्रेस’ विकल्पमार्फत आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ। ग्राहकको सुविधाका लागि अनलाइन कर्जा आवेदन पोर्टलको क्यूआर कोडसमेत उपलब्ध गराइएको छ।
पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्लामा रहेका ३१६ शाखामार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Online Arthik










