गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त भएको पनौती जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आउन अझै करिब एक वर्ष लाग्ने भएको छ। नेपालको तेस्रो जलविद्युत् आयोजना मानिने २.४ मेगावाट क्षमताको उक्त केन्द्र वि.सं. २०८१ असोजमा आएको बाढीपहिरोपछि विद्युत् उत्पादनबाट पूर्ण रूपमा बन्द छ।
बाढीका कारण विद्युतगृहमा पानी पस्दा टर्बाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायतका महत्वपूर्ण विद्युतीय उपकरण डुबानमा परेका थिए। साथै, रोसी खोलाले धार परिवर्तन गर्दा बाँधमा समेत क्षति पुगेको छ। विपद्का कारण आयोजनामा करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। केन्द्र प्रमुख शिवराज तिमिल्सिनाका अनुसार बाढीले अधिकांश विद्युतीय उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन्। बाँधबाट विद्युतगृहसम्म पानी लैजाने क्यानलमा पनि क्षति पुगेको थियो। हाल विद्युतगृहभित्र जमेको माटो र लेदो हटाउने काम सम्पन्न भइसकेको छ भने नयाँ उपकरण खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग बजेट माग गरिएको छ।हाल आयोजनाको सिभिलतर्फको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। विद्युतगृह आसपासको पहिरो नियन्त्रणका लागि जैविक इन्जिनियरिङलगायतका काम अन्तिम चरणमा पुगेका छन्। निर्माण कार्य निर्धारित समयमै सम्पन्न भए अधिकतम एक वर्षभित्र पुनः विद्युत् उत्पादन सुरु हुने अपेक्षा गरिएको छ।
तत्कालीन सोभियत सङ्घको सहयोगमा वि.सं. २०१७ मा निर्माण सुरु भएको पनौती जलविद्युत् आयोजना २७ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भई वि.सं. २०२२ मा उद्घाटन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणले यस आयोजनालाई अध्ययन केन्द्रका रूपमा विकास गर्ने निर्णय समेत गरिसकेको छ।

Online Arthik









