नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले १७९ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत साउन ११ गते बोलकबोल आह्वान गरेको हो। राष्ट्र बैंकका अनुसार बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत सञ्चालन हुनेछ र बोलकबोलबाट निर्धारण भएको ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ। न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँले भाग जाने रकममा बोल गर्न सकिनेछ। यसमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकता दिइनेछ भने समान ब्याजदरमा बढी आवेदन परेमा समानुपातिक आधारमा रकम बाँडफाँड गरिने व्यवस्था छ। स्वीकृत रकम सम्बन्धित संस्थाको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरिनेछ र निष्काशनको दिन खातामा पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा परेर आगामी बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज माघ ८ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया