जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कफ्र्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १० बजेदेखि राति ७ बजेसम्म कफ्र्यु खुकुलो पारिएको हो। प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कफ्र्युलाई थप खुकुलो बनाउने वा पुनः लागू गर्नेबारे आवश्यक निर्णय गरिने जनाएको छ। साथै, गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिने उल्लेख गर्दै कफ्र्यु खुकुलो भएको अवधिमा पनि पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन सबैसँग आग्रह गरिएको छ।
सुनसरीमा भएको घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कफ्र्यु आदेश लागू गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले दिनको समयमा कफ्र्यु खुकुलो बनाउने निर्णय गरेको जनाएको छ।

Online Arthik










