सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकका अनुसार नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा रहेकोमा त्यसको ४ प्रतिशत अर्थात् १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशबापत २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ।

बोनस सेयर र नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश तथा वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय भएको बैंकले जनाएको छ। राष्ट्र बैंकबाट कुनै संशोधन, सुझाव वा निर्देशन प्राप्त भएमा सोसमेत समावेश गरी आगामी वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश स्वीकृत गराउने बैंकको तयारी छ।

तपाईको प्रतिक्रिया