रुपाकोट रिसोर्ट लिमिटेडले भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा रुपाकोट रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच दुई पक्षीय सम्झौता सम्पन्न भएको हो। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले रुपाकोट रिसोर्टलाई आईपीओ निष्कासनसम्म आवश्यक पर्ने परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ। एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापनादेखि आईपीओ निष्कासनको चरणसम्म आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ। कास्कीको रुपा गाउँपालिका–६, मैदानमा कार्यालय रहेको रुपाकोट रिसोर्टले प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्ने तयारी अघि बढाएको हो। पोखरामा अवस्थित रुपाकोट रिसोर्ट पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै आएको छ। प्राकृतिक सौन्दर्य, शान्त वातावरण, हिमाली शृंखलाको दृश्य तथा रुपा र बेगनास तालको मनोरम दृश्यावलोकन गर्न सकिने भौगोलिक अवस्थिति रिसोर्टको प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ। रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। रिसोर्टमा आवासीय सुविधा, भोजन तथा पेय पदार्थ सेवा, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध छन्। पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रुपाकोट रिसोर्ट उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको कम्पनीले जनाएको छ।

Online Arthik










