मिड सोलु हाइड्रोपावर लिमिटेडको संस्थापक, कर्मचारी तथा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको शेयरको लकइन अवधि असोज १० गतेदेखि समाप्त हुने भएको छ।

कम्पनीले संस्थापक शेयरधनी, कर्मचारी तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि कुल ७७ लाख ६३ हजार १५३ कित्ता शेयर लकइनमा राखेको थियो। उक्त लकइन अवधि समाप्त भएपछि यी शेयर कारोबारका लागि योग्य हुनेछन्। कम्पनीका अनुसार ६८ लाख ८५ हजार २८० कित्ता शेयर योग्य संस्थापक लगानीकर्ताका लागि बाँडफाँट गरिएको थियो। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १७ हजार २१३ कित्ता कर्मचारी र ८ लाख ६० हजार २६० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि बाँडफाँट गरी लकइनमा राखिएको थियो।

अब उक्त शेयरको लकइन अवधि समाप्त हुने भएकाले सम्बन्धित शेयरधनीले बजारमा कारोबार गर्न सक्नेछन्। लकइन अवधि सकिएसँगै कम्पनीको कारोबारयोग्य शेयर संख्या थपिनेछ।

तपाईको प्रतिक्रिया