ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारी बढाउँदै जनसंख्या पलायन न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताएका छन्।
सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका क्रममा उनले सिँचाइलाई नहर निर्माणमा मात्र सीमित नगरी कृषि उत्पादन, उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमसँग एकीकृत गर्नुपर्ने बताए। उनका अनुसार सुनसरी–मोरङ सिँचाइ परियोजनाले मात्रै वार्षिक १४ अर्ब रुपैयाँभन्दा बढीको कृषि उत्पादनमा योगदान पुर्याउँदै आएको छ।
करिब ६८ हजार हेक्टर कमान्ड क्षेत्र समेट्ने परियोजनामा कोशी नदीको धार परिवर्तन, गेग्रान थुप्रिने तथा इन्टेकमा पर्याप्त पानी नपुग्ने समस्या देखिएको छ। सुक्खायाममा इन्टेकमा पानीको उपलब्धता १० देखि १५ घनमिटर प्रतिसेकेन्डसम्म सीमित हुने गरेको छ।
मन्त्री श्रेष्ठले तत्कालीन र दीर्घकालीन समाधानलाई समेटेर एकीकृत कार्ययोजना बनाउन निर्देशन दिँदै ड्रेजिङलगायतका अल्पकालीन उपायलाई स्थायी समाधानको विकल्प बनाउन नहुने बताए। पुराना सिँचाइ प्रणालीको पुनर्स्थापना र आधुनिकीकरणलाई प्राथमिकता दिँदै सिँचाइलाई कृषि, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो।

Online Arthik










