चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालमा ४७ वर्षीया महिलाको जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। मस्तिष्कमा रक्तस्राव भएपछि अस्पताल ल्याइएकी बिरामीको परीक्षण गर्दा दुवै पक्षमा गरी सात वटा एन्युरिज्म (रक्तनली फुल्ने समस्या) पहिचान भएको थियो।
सामान्यतया दुवै पक्षका एन्युरिज्मको उपचारका लागि छुट्टाछुट्टै शल्यक्रिया आवश्यक पर्ने भए पनि वीर अस्पतालका न्युरोसर्जनहरूले बायाँतर्फबाट एउटै शल्यक्रियात्मक पहुँच बनाएर दुवै पक्षका ६ वटा एन्युरिज्म सफलतापूर्वक क्लिपिङ गरेका छन्। करिब सात घण्टा लामो शल्यक्रियाको नेतृत्व प्रा. डा. राजीव झाले गरेका थिए।
अस्पतालका अनुसार बाँकी रहेको सातौं एन्युरिज्मको उपचार रक्तनलीभित्रबाट गरिने विधिमार्फत गर्ने योजना छ। शल्यक्रियापछि बिरामी पूर्ण रूपमा होसमा रहेकी छन् भने हाल कुनै स्नायुसम्बन्धी कमजोरी देखिएको छैन।वीर अस्पतालले यसअघि पनि यही प्रविधिबाट नौ जना बिरामीमा सफलतापूर्वक एन्युरिज्म क्लिपिङ गरिसकेको जनाएको छ। एउटै शल्यक्रियात्मक पहुँचबाट ६ वटा एन्युरिज्मको सफल उपचार हुनु नेपालमा मस्तिष्क तथा रक्तनलीसम्बन्धी शल्यचिकित्साको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको अस्पतालले जनाएको छ।

Online Arthik









