सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा आगामी असोज २३ गते शुक्रबार आयोजना गर्ने भएको छ। कम्पनीका अनुसार काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा दिउँसो २ बजेबाट सभा सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी छलफल तथा पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ। यसैगरी, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेस गरिनेछ। प्रबन्ध सञ्चालकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने विषय पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।कम्पनीले नियमावली संशोधन गर्ने तथा नियामक निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत साधारणसभामा पेस गर्ने जनाएको छ।

साधारणसभामा सहभागी हुन इच्छुक सेयरधनीले आफ्नो परिचय खुल्ने प्रमाणपत्र तथा सेयरसम्बन्धी आवश्यक प्रमाणसहित उपस्थित हुनुपर्नेछ। सभाको प्रयोजनका लागि कम्पनीले असोज १६ गते एक दिन सेयर दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसअघि कायम भएका सेयरधनीले मात्र साधारणसभामा सहभागी भई सभाका निर्णयमा भाग लिन पाउनेछन्।

तपाईको प्रतिक्रिया