बुढानीलकण्ठमा सञ्चालनमा रहेको पाँचतारे होटल लेमन ट्री प्रिमियरको आम्दानी सन् २०२६ मा २५.४२ प्रतिशतले बढेर २९ करोड ६० लाख रुपैयाँ पुगेको छ। सन् २०२५ मा होटलको आम्दानी २३ करोड ५० लाख रुपैयाँ रहेको थियो।
होटलको अकुपेन्सी दर बढेसँगै कोठाबाट हुने आम्दानीमा सुधार आएको छ। सन् २०२५ को ३६ प्रतिशत रहेको अकुपेन्सी दर सन् २०२६ मा बढेर ४९ प्रतिशत पुगेको छ। साथै, सञ्चालन खर्चमा २८ प्रतिशत कमी आएपछि सञ्चालन नाफा दर ३ प्रतिशत ऋणात्मकबाट बढेर ३० प्रतिशत पुगेको छ। यद्यपि उच्च ब्याज तथा मूल्यह्रास खर्चका कारण होटल अझै खुद नाफामा पुग्न सकेको छैन। सन् २०२६ मा खुद नाफा दर ३.२ प्रतिशत ऋणात्मक रहेको छ। अर्कोतर्फ, हकप्रद सेयरबाट प्राप्त रकम प्रयोग गरी सावधिक ऋणको ३६ प्रतिशत भुक्तानी गरेपछि कुल ऋण तथा खुद सम्पत्तिको अनुपात १.३ गुणाबाट घटेर ०.५ गुणामा आएको छ।करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा १०२ कोठा र १९० बेड क्षमता रहेको छ। होटलमा विभिन्न रेस्टुरेन्ट, बार, हेल्थ क्लब, स्वीमिङ पुल, स्पा, योग तथा ध्यान केन्द्र, बैंक्वेट र मिटिङ हललगायत सुविधा छन्। करिब १८ हजार वर्गफिटमा क्यासिनो हल निर्माणाधीन रहेको कम्पनीले जनाएको छ।
पूँजी वृद्धि गर्न बुढानीलकण्ठ हेरिटेज लिमिटेडले ४९ करोड ५० लाख रुपैयाँ बराबरका ४९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। आईपीओपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य रहेको छ।

Online Arthik










