शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा नेपालमा स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर र एक्स५०००ई इलेक्ट्रिक टिपर सार्वजनिक गरेको छ। यससँगै स्याकम्यानले नेपालको विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन बजारमा प्रवेश गरेको छ।
६×४ ड्राइभट्रेनसहितका दुवै मोडलमा फास्ट चार्जिङ, रिजेनेरेटिभ ब्रेकिङ र इन्टेलिजेन्ट ब्याट्री व्यवस्थापन प्रणाली जस्ता प्रविधि छन्। प्राइम मुभर लामो दूरी तथा भारी सामान ढुवानीका लागि र टिपर निर्माण, खानी तथा अफ–रोड सञ्चालनका लागि लक्षित गरिएको छ। जगदम्बा मोटर्सका अनुसार यी सवारीसाधनमा एयर–सस्पेन्डेड सिट, मल्टिफङ्सन स्टेयरिङ, एयर कन्डिसनिङ र ठूलो इन्स्ट्रुमेन्ट डिस्प्ले लगायतका सुविधा उपलब्ध छन्।
स्याकम्यान एक्स५०००ई ६×४ इलेक्ट्रिक प्राइम मुभरको मूल्य २ करोड ५ लाख रुपैयाँ र एक्स५०००ई ६×४ इलेक्ट्रिक टिपरको मूल्य २ करोड ३५ लाख रुपैयाँ तोकिएको छ। नयाँ मोडलसँगै जगदम्बा मोटर्सले आफ्नो व्यावसायिक सवारीसाधन पोर्टफोलियोलाई विद्युतीय हेभी–ड्युटी सेग्मेन्टमा विस्तार गरेको छ।

Online Arthik










