नेपाल वायुसेवा निगमले चारवटा इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै खरिद प्रक्रियामा रहेका नीतिगत तथा कानुनी जटिलता हटाइदिन सरकारसँग आग्रह गरेको छ।

शुक्रबार संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले बिड बन्ड, पर्फर्मेन्स बन्ड र अग्रिम भुक्तानीसम्बन्धी कानुनी प्रावधानका कारण इन्जिन मर्मत तथा खरिद प्रक्रियामा समस्या भइरहेको बताए।प्राविधिक समस्याका कारण वाइडबडी जहाज ग्राउन्डेड हुँदा निगमले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले जानकारी दिए। जापान उडानका क्रममा देखिएको समस्याबाट मात्रै करिब २४ करोड रुपैयाँ राजस्व गुमेको र इटालीमा मर्मतका क्रममा रहेको अर्को जहाजमा पनि प्राविधिक समस्या देखिएको निगमले जनाएको छ। बैठकमा लामो समयदेखि थन्किएका चिनियाँ निर्मित एमए–६० र वाई–१२ जहाज व्यवस्थापनको विषयमा समेत छलफल भएको थियो। ती जहाज बिक्री, लिज वा अन्य विकल्पमार्फत व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

निगमले कर्पोरेट पुनर्संरचना, पुँजी वृद्धि तथा निष्क्रिय सम्पत्तिको व्यवस्थापनका लागि संसदीय समितिबाट आवश्यक नीतिगत मार्गदर्शन र निर्णयको अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया