अस्ट्रेलियाको बजेट एयरलाइन्स जेटस्टारका करिब १ हजार कर्मचारी तलब तथा सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन्। अस्ट्रेलियन सर्भिसेज युनियन (एएसयू) का अनुसार व्यवस्थापनसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि कर्मचारीले अक्टोबर २ देखि ४ सम्म विभिन्न विमानस्थलमा चरणबद्ध रूपमा काम रोक्ने भएका हुन्।
आन्दोलनअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, केर्न्स, कुलाङ्गाटा र एभालोन विमानस्थलमा एक–एक घण्टा काम रोकिनेछ। कर्मचारीले यात्रु घोषणा, फोन सेवा तथा उडान ढिलाइ वा रद्द भएपछि गरिने केही पुनःव्यवस्थापनका काम नगर्ने जनाएका छन्। सुरक्षा र यात्रुको कल्याणसँग सम्बन्धित सेवामा भने असर नपार्ने बताइएको छ। युनियनका अनुसार जेटस्टारले हाल २.१ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ भने अप्रिल २०२७ देखि यसलाई ३ प्रतिशत पुर्याउने प्रस्ताव गरेको छ। तर, कर्मचारी पक्षले उक्त प्रस्ताव जीवनयापन लागतको वृद्धिअनुसार पर्याप्त नभएको जनाएको छ।व्यस्त यात्रा अवधिमै आन्दोलन हुन लागेकाले विमानस्थलमा यात्रुको चाप बढ्ने अनुमान गरिएको छ। सिड्नी विमानस्थलले शुक्रबार मात्रै करिब ९४ हजार यात्रु टर्मिनल २ र ३ बाट यात्रा गर्ने अनुमान गरेको छ।
जेटस्टारले भने औद्योगिक आन्दोलनका बाबजुद उडान सञ्चालनमा ठूलो प्रभाव नपर्ने जनाएको छ। यात्रुलाई यात्रा अघि आफ्नो उडानको पछिल्लो स्थिति जाँच गर्न आग्रह गरिएको छ।

Online Arthik










