नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे हुनेछ। उद्घाटन सत्रलाई सभापति गगनकुमार थापासहित कांग्रेसका शीर्ष नेता तथा प्रमुख राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

कांग्रेसका अनुसार महाधिवेशनमा देश तथा विदेशबाट करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन्। यस महाधिवेशनलाई नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासका दृष्टिले ऐतिहासिक मानिएको छ। ३५ वर्षमुनिका युवा, लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीलाई पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्वको अवसर दिइने कांग्रेसले जनाएको छ। ‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ भन्ने मूल नारासहित हुने महाधिवेशनमा पार्टीको भावी नीति, कार्यक्रम र नेतृत्वबारे छलफल हुनेछ। बन्दसत्र असोज १९ र २० गते सञ्चालन हुनेछ भने सोही क्रममा पार्टीका विभिन्न प्रतिवेदनमाथि छलफल हुनेछ।

निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ। कांग्रेसले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीको विधि, पद्धति र भावी राजनीतिक दिशालाई थप स्पष्ट बनाउने जनाएको छ।

तपाईको प्रतिक्रिया