सौरभ ग्रुपअन्तर्गतको लक्ष्मी स्टिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११.९० प्रतिशत अर्थात् १ अर्ब १६ करोड ७० लाख रुपैयाँ बढी हो। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको आम्दानी ९ अर्ब ८० करोड १० लाख रुपैयाँ थियो।

कम्पनीका अनुसार बजारमा रहेको स्वस्थ माग, बिक्री परिमाणमा वृद्धि तथा आयोजनासम्बन्धी बिक्री बढेकाले आम्दानीमा सुधार आएको हो। कम्पनीको सञ्चालन नाफा दर भने ६.०२ प्रतिशतमा कायम भएको छ। ब्याज खर्च घटेका कारण खुद नाफा दर ३.७८ प्रतिशत रहेको छ। नवलपरासीको सुनवलमा उद्योग सञ्चालन गर्दै आएको कम्पनीले बिलेट, टीएमटी स्टिल बार तथा तार उत्पादन गर्छ। कम्पनीको वार्षिक बिलेट उत्पादन क्षमता १ लाख ८० हजार मेट्रिक टन र टीएमटी रड उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन रहेको छ। कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ७७ करोड रुपैयाँ ऋण लिएको छ। आफ्नै बिलेट उत्पादन इकाइ र भारत–नेपाल सीमासँगको नजिकको अवस्थाले कच्चा पदार्थको लागत तथा आपूर्ति व्यवस्थापनमा सहयोग पुगेको कम्पनीको भनाइ छ।

यद्यपि, स्टिल उद्योगमा तीव्र प्रतिस्पर्धा, ग्राहकलाई दिइने उधारो अवधि, कच्चा पदार्थ आयातमा निर्भरता तथा विदेशी मुद्रा विनिमय दरमा हुने उतारचढाव कम्पनीका प्रमुख जोखिमका रूपमा रहेका छन्। साथै, आयात शुल्कसम्बन्धी नीतिमा परिवर्तन भएमा सस्तो आयातित स्टिलसँग प्रतिस्पर्धा बढ्न सक्ने जोखिम रहेको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया