दशैं–तिहार नजिकिएसँगै काठमाडौंमा रहेका सर्वसाधारण घर फर्किन थालेका छन्। सडकमार्गमा यात्रुको चाप बढ्नुका साथै विभिन्न स्थानमा सडक अवरुद्ध हुने जोखिम रहेकाले लामो दूरीका यात्रुका लागि हवाई यात्रा रोजाइमा परेको छ। यात्रुको चाप बढेसँगै हवाई टिकटको माग पनि बढेको छ। सस्तो फेयरका टिकट सकिएपछि महँगो श्रेणीका टिकट मात्र उपलब्ध हुने भएकाले ढिला बुकिङ गर्ने यात्रुले बढी भाडा तिर्नुपर्ने अवस्था देखिएको छ।
यद्यपि, अघिल्ला वर्षको तुलनामा यसपटक यात्रुले केही राहत पाएका छन्। एयरलाइन्स कम्पनीहरूले अधिकतम भाडादरमा मात्र टिकट बिक्री गर्ने प्रवृत्ति घटाउँदै न्यूनतम र मध्यम फेयरमा समेत टिकट उपलब्ध गराइरहेका छन्। विशेषगरी बुद्ध एयरले यसपटक दशैंमा अधिकतम भाडा नलिने घोषणा गर्दै न्यूनतम र मध्यम श्रेणीमा टिकट बिक्री गरिरहेको जनाएको छ। कम्पनीका अनुसार यात्रुले करिब तीन महिनाअघिदेखि नै टिकट बुकिङ थालेका थिए र अधिकांश गन्तव्यका टिकट अग्रिम बुकिङ भइसकेका छन्।
श्री एयरलाइन्सले पनि दशैंका लागि विभिन्न गन्तव्यमा फरक–फरक भाडादर कायम गरेको छ। काठमाडौं–भद्रपुरको न्यूनतम भाडा दशैंअघि ८ हजार रुपैयाँ रहेकामा घटस्थापनाका दिन ११ हजार ९ सय रुपैयाँ पुगेको छ। काठमाडौं–विराटनगरको भाडा ७ हजार ५ सयबाट बढेर ८ हजार ३ सय रुपैयाँ पुगेको छ। काठमाडौं–धनगढीमा १८ हजार ३ सयदेखि २१ हजार ९ सय ८० रुपैयाँसम्म भाडा कायम गरिएको छ। पोखरा, सुर्खेतलगायत केही गन्तव्यमा भने न्यूनतम भाडामै टिकट उपलब्ध रहेको जनाइएको छ। काठमाडौं–जनकपुर, सिमरा र भरतपुर रुटका टिकट भने बिक्री भइसकेका छन्।
वायु सञ्चालक संघ नेपालका महासचिव मुरलीधर जोशीका अनुसार हवाई भाडा यात्रुको मागअनुसार प्रणालीबाट स्वतः निर्धारण हुने गर्छ। न्यूनतम भाडाका टिकट सकिँदै जाँदा मध्यम र अधिकतम भाडाका टिकट खुल्ने भएकाले चाडपर्वमा हवाई टिकट महँगो देखिने गरेको उनको भनाइ छ। दशैंमा जानेतर्फ यात्रुको चाप उच्च भए पनि फर्किने क्रममा यात्रु कम हुने भएकाले एयरलाइन्सको सञ्चालन लागतसमेत प्रभावित हुने उनले बताए।
नागरिक उड्डयन प्राधिकरणले भने तोकिएको अधिकतम सीमाभन्दा बढी भाडा लिन नपाइने जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भोटेकोसी क्षेत्रमा आएको बाढीपछि एयरलाइन्स कम्पनीहरूलाई सकेसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउन निर्देशन दिइएको छ। प्राधिकरणले करिब दुई–तीन साताअघि कम्पनीहरूसँग छलफल गरी सस्तो फेयरमा टिकट उपलब्ध गराउन लिखित निर्देशनसमेत दिएको जनाएको छ। त्यसपछि यसपटक न्यूनतम, मध्यम र अधिकतम तीनै तहका भाडादरमा टिकट खुला गरिएको प्राधिकरणको भनाइ छ।

Online Arthik










