एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट साधारण सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको असोज २१ गते बसेको ४१७औँ बैठकले बोनस सेयर नदिने निर्णय गर्दै नगद लाभांश प्रस्ताव गरेको हो।

बैंकका अनुसार साधारण सेयरधनीका लागि प्रस्तावित ७ प्रतिशत लाभांशमा करसमेत समावेश छ। यसका लागि १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ छुट्याउने प्रस्ताव गरिएको छ। अर्थात् १०० रुपैयाँ अंकित मूल्यको एक कित्ता साधारण सेयर बराबर ७ रुपैयाँ नगद लाभांश प्राप्त हुनेछ। यस्तै, बैंकले ८.२५ प्रतिशत एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि वार्षिक ८.२५ प्रतिशतका दरले १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको छ। अग्राधिकार सेयरको लाभांश भने साधारण सेयरको ७ प्रतिशतभन्दा छुट्टै प्रतिफल हो।साधारण र अग्राधिकार सेयरका लागि प्रस्तावित लाभांश जोड्दा बैंकले करिब १ अर्ब ४७ करोड २० लाख रुपैयाँ वितरण गर्नेछ। बोनस सेयर प्रस्ताव नभएकाले साधारण सेयरधनीको सेयर संख्या भने बढ्ने छैन।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै वितरण हुनेछ। बैंकले साधारणसभा र बुक क्लोजको मिति भने सार्वजनिक गरिसकेको छैन।

तपाईको प्रतिक्रिया